२८ चैत, चितवन। भारतीय केरा चितवनको बजारमा प्रतिबन्ध लगाउने निर्णय स्थानीय केरा उत्पादक र विक्रेताले गरेका छन् । चितवनका बजारमा भारतबाट आएको केरा विक्री वितरण नगर्ने फलफूल व्यवसायी संघ र चितवन केरा उत्पादक संघबीच सहमति भएको हो । अप्रशोधित भारतीय केराहरु चितवनका बजार क्षेत्रमा विक्रीवितरण हुन थालेपछि चितवन केरा उत्पादक संघले आपत्ति जनाउँदै आएको थियो ।
शुक्रवार भारतीय क्षेत्रका अप्रशोधित एकएलपी (आठसय घरीभन्दा बढी) केरा चितवनको बजारमा ल्याइएपछि चितवन केरा उत्पादक संघले त्यसको विरोध गरेको थियो ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुको साटो भारतीय अप्रशोधित केरालाई स्थान दिएको भन्दै विरोधमा उत्रिएपछि चितवन फलफूल व्यवसायी संघ र चितवन केरा उत्पादक संघबीच यस्तो सहमति भएको हो ।
दुइपक्षीय बैठकले चितवनको उत्पादनले भ्याए सम्म चितवनको बजारमा भारतीय केरा विक्रिवितरणका लागि नल्याउने सहमति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । उनका अनुसार अबको ६ महिना सम्म नेपाली बजारमा स्थानीय केरालेनै माग पूर्ती गर्न सक्ने छ ।













