२८ चैत, काठमाडौं ।नेकपा एमालेले दोश्रो संबिधानसभाबाटै संबिधान निर्माण हुने भन्दै तेश्रो संबिधानसभाको प्रश्न नगर्न युरोपिन युनियलाई आग्रह गरेको छ ।
शनिबार आफ्नै निवास बालकोटमा पार्टी अध्यक्ष केपी ओलीले युरोपेली युनियनका सांसदहरुको टोलिसँग भेट गर्दे तेश्रो संबिधानसभाको कुनै संभावना नै नरहेको स्पस्ट पारे । भेटमा ओलीले दोश्रो संबिधानसभाबाट सबै जातजाती समूदायको संबिधान निर्माण हुने उल्लेख गरे । यसअघि बिहीबार संबिधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङसंगको भेटमा टोलीले तेश्रो संबिधानसभाको सम्भावनाका विषयमा चासो राखेका थिए । भेटमा युरोपेली युनियनका सांसदहरुको टोलीले सकारात्मक रुपमा नै तेश्रो संबिधानसभाका बिषयमा जिज्ञासा राखेको जनाएको थियो ।
यसअघि टोलीले राष्ट्रपति, सभामुखदेखि राजनीतिक दलका प्रमुख नेताहरुसँगको भेटमा पनि संबिधान लेखनका विषयमा चासो राखेका थिए । एसिया मामिला हेर्ने सांसदको प्रतिनिधिमण्डलले बुधवार काठमाडौं आइपुगेको थियो ।
यसैबीच छिमेकी मुलुक भारतले नेपालमा भइरहेको संविधान लेखनका बिषयमा ओलीसँग चासो व्यक्त गरेको छ ।
शनिबार ओलीसँग भेट गर्दे नेपालका लागी भारतीय राजदुत रञ्जीत रेले नेपालमा संविधान लेखनका बिषयमा पछिल्लो समय भइरहेको कामका बिषयमा चासो व्यक्त गरेका हुन् ।
भेटमा रेले संविधान लेखनका बिषयमा दलहरुबिच मिल्न नसकेको विषयमा पनि प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष ओलीले दलहरुबीच अधिकांश बिषयमा सहमति भइसकेको भन्दै केही बिषयमा अझै छलफल भइरहेको ओलीको जवाफ थियो । सबै दलहरुको छुट्छुट्टै धारणा हुनु स्वभाविक भएको भन्दै ओलीले त्यसलाई संविधासभाले नै टुङ्गो लगाउने जवाफ दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिए ।
भेटमा राजदुत रेले नेपालको प्रगतिमा भारतले सधै सकारात्मक भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए ।











