२८ चैत, भक्तपुर । नयाँवर्षको आगमनसँगै भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्राको रथ तान्ने क्रममा विवाद भई ढुङ्गा हानाहान भएको छ । आजबाट सुरुभएको बिस्केट जात्रामा रथ तान्ने क्रममै विवाद भएको हो । विवादका क्रममा ढुङ्गा हानाहान हुँदा नौ जना घाइते भएका छन् ।
शनिबार विहान रथ गःहिटी ल्याइएको छ । शुक्रबार साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ शनिबार बिहान प्रहरीले गःहिटी ल्याएको हो ।
रथ तान्ने क्रममा र ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । भक्तपुर अस्पतालमा उपचारपछि उनीहरू घर फर्केका अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिए ।
तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आ–आफ्नो क्षेत्रमा तानेर लैजाने गर्छन् ।
रथ तानेर साकोथा पुगेपछि ढुंगा हानाहान भएकामा प्रहरीकै संयमता र सक्रियतामा स्थितिलाई नियन्त्रणमा लिएर पुनः रथ तान्न सुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए । स्थानीयले रथलाई दत्तात्रय पुर्याएर छाडेपछि रथलाई प्रहरीले तानेर बिहान ४ बजे तौमढीस्थित गःहिटी ल्याएर राखेको उनले जानकारी दिए ।
जात्राको पहिलो दिन तानेको रथलाई गःहिटीमै पुर्याउनुपर्ने परम्परा छ ।
तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवम् सांस्कृतिक महत्वको बिस्केट जात्रा नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।
त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्ऽ मल्लले यो जात्रा अझ व्यवस्थित गरी ८ रात र ९ दिन मनाउने प्रचलन चलाएअनुसार अहिलेसम्म त्यही प्रचलन जारी छ ।
प्रत्येक वर्ष वैशाख ५ गते जात्राको अन्तिम दिन हुने भएकाले उक्त दिन पाँचतले मन्दिरस्थित तौमढी भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्राएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।
बिस्केट जात्रामै चैत ३० गते भक्तपुरको भेलुखेलमा लिंगो उठाउने र दिनभर जात्रा गरी साँझ त्यसलाई ढाल्ने परम्परा छ ।











