२८ चैत, वाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ७० प्रतिशत भन्दा धेरै मत खसेको जनाइएको छ । ।
बाग्लुङ क्षेत्रनम्बर १ मा ५२ हजार २०२ मतदाता छन् । ‘३७ हजारभन्दा बढीले मत खसालेको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिएका छन्।
मतपेटिका संकलनको सकिएपछि मतगणना तत्काल सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । जिल्ला सदरमुकाम सहित ३५ ओटा मतदान केन्द्रमा ७० बुथ तोकिएका थिए । अहिलेसम्म भएको मतदानको अवस्था हेर्दा निर्वाचनमा तीव्र प्रतिश्पर्धा हुने पूर्वानुमान तथा सर्वेक्षण विभिन्न संघ संस्थाहरुले गरेका छन् ।
उप निर्वाचनमा मुख्य प्रतीस्पर्धी तिन राजनीतिक दलका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन् । निर्वाचनमा ७० मतदान केन्द्र रहेका छन् । उप निर्वाचनमा जिल्लामा पहिलो पटक विद्युतीय मतदान मेसिनको प्रयोग गरिएको छ ।
सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले मतदानका लागि असक्त, वृद्ध, गर्भवती महिला लगायत मतदाताका लागि छुट्टै व्यवस्था भएको जानकारी दिँदै विद्युतीय उपकरणबाट हुने मतदान गोपनीय हुने र कुन दल वा स्वतन्त्र उम्मेदवारलाई मत दियो भन्ने कुरा गोप्य रहने बताउनुभयो । जसको लागि निजामति कर्मचारी ३ सय ५० र स्वयमसेवक ४ सय २० गरी कुल ७ सय ७० जना जनशक्ति परिचालन भएका छन ।
सुरक्षाको व्यवस्था अवश्यकता अनुसार निर्वाचन सुरक्षा समितिले बन्दोबस्त गरेको छ । उपनिर्वाचनमा मतदाता परिचय पत्र नभइकनै पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरेको छ । परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाण–पत्र वा जग्गाधनी प्रमाण–पत्र वा सवारी चालक अनुमति–पत्र वा नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विर सहितको अन्य कागजातको आधारमा पनि उपनिर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाएको उपाध्यायले बताउनुभयो । २०७० सालको निर्वाचनवाट बिजयी सभासद हरिवहादुर खड्काको सडक दुर्घटना परि मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । बागलुङ क्षेत्र नम्वर १ मा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन् । उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का, नेकपा एमालेबाट मनकुमारी केसी, र एकीकृत माओवादीबाट कृष्ण केसीले उम्मेद्वारी दिन’भएको छ । त्यसैगरि राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी, राप्रपा नेपाल र राप्रपाका नवीनचन्द्र शरबुजा, संघीय समाजवादीका रेसम थापामगर, नेकपा मालेका कुलबहादुर किसान, परिवार दलका बाबुराम शर्मा लगायत १० दलका र ३ जना स्वतन्त्र गरि १३ जना उमेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।











