२६ चैत, जनकपुर । धनुषा एकराही – ४, निवासी ३२ वर्षीया निलमदेवी पासवानले आफ्नै भतिजाको लिङ्ग काटिदिएकी छिन्। भतिजासँग पहिलेदेखि शारीरिक सम्बन्ध राख्दै आएको तर २४ वर्षीय दिलीप पासवानले अर्कैसँग विहे गरेको भन्दै निलमदेवीले भतिजाको लिङ्ग छिनाइदिएकी हुन् । आफूलाई छाडेर अर्कैसँग विहे गरेको झोंकमा निलमले बिहीबार बिहान चक्कुले लिंग काटिदिएको प्रहरीले जनाएको छ।
चार छोराछोरीकी आमा निलम र दिलीपबीच धेरै पहिलेदेखि सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ । आफ्नो सेक्स पार्टनरले कोहीसँग बिहे नगरोस् भन्ने निलमले चाहेको तर, गत फागुन २९ गते उनले बवहे गरेपछि त्यसैको झोँकमा यो घटना भएको प्रहरीको ठहर छ ।
बिहीबार बिहान करिब तीन बजे निलमले दिलीपलाई आफ्नो घरमा बोलाएर शारीरिक सम्बन्ध राखेको र त्यसपछि चक्कुले दिलीपको लिंगै काटिदिएको प्रहरीले जानकारी दिएको छ । घटनालगत्तै दिलिपलाई जनकपुर अञ्चल अस्पताल पुर्याइएको र उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको छ।
निलमलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर भागिरथ रेग्मीले जनाए। उनलाई ज्यान मार्ने उद्योग तथा शरीर अंगभंगसम्बन्धी मुद्दामा कारबाही हुने रेग्मीले बताए। निलमका श्रीमान् तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा देशबाहिर छन्।
यसअघि गत फागुन ८ गते यस्तै घटना जनकपुर–१७ लोहनामा भएको थियो। श्रीमान् वैदेशिक रोजगारमै रहेको लोहनाकी २८ वर्षीया चञ्चलादेवी मण्डलले आफ्नै भतिजा २६ वर्षीय रामदेव मण्डलको लिङ्ग काटिदिएकी थिइन्। पहिलेदेखि आपसमा सम्बन्ध रहेको उनीहरुबीच पनि रामदेवले अर्को विहे गर्न नपाउने शर्त हुँदाहुँदै विहे गरेपछि प्रतिशोधमा उक्त घटना भएको थियो। अहिले चञ्चला ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दाको पुर्पक्षका लागि सिन्धुली कारागारमा छिन्।














