२६ चैत, रौतहट । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गौर आन्दोलनबाट उठेका जायज मागलाई सरकारले पूरा नगरेमा पुन: संघर्ष गर्नुपर्ने बताएका छन् । संविधान बनाउने समयमा सरकारले मधेशी जनतालाई द्वन्द्वमा फसाउनका लागि सेवा कार्यालय स्थापना गर्ने षड्यन्त्रको परिणाम स्वरुप नै गौरमा साता व्यापी आन्दोलन भएको स्पष्ट पारे ।
मालपोत र नापी कार्यालयको शाखा कार्यालय रौतहटको चन्द्रनिगाहपुर स्थापना गर्ने विषयलाई लिएर भएको आन्दोलनको क्रममा मृत्यु भएका रामआशिष ठाकुरको सम्झनामा गौरमा विहीवार शोक सभामा श्रद्धान्जली व्यक्त गर्दै महतोले साता व्यापी आन्दोलनबाट बाहिर आएका मागहरु प्रति सरकार गम्भिर नभएमा पुनस् मधेशी जनताहरु निर्णायक संघर्ष गर्नु बाहेक कुनै विकल्प नभएको बताए ।
सहमतिको आधारमा संविधान निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने पर्ने अवस्थामा वर्तमान सरकारले मधेशवादी दललाई उक्त कार्यबाट विमुख बनाउन सेवा कार्यालय स्थापना गराउने कुटिल चालको षड्यन्त्र गरेको आरोप अध्यक्ष महतोले लगाए ।
सेवा कार्यालयको नाममा नेपाली नेपालीबीच कुटाकुट गराउने वर्तमान सरकारको कार्यशैलीलाई जति भर्सत्सना गरेमा कमै हुने जिकीर गर्दै देशवासीलाई सेवाको खाँचो रहेको अवस्थामा पहाडी जिल्लामा किन सेवा कार्यालयहरु स्थापना नगरिएको मधेशमा किन यो विभेदकारी नितिका भण्डाफोर गर्न ३० दलिय मोर्चा अभियान संचालन गर्ने चेतावनी दिए ।
जायज मागहरु प्रति उचित सम्बोधन गर्नुपर्ने मागहरु राख्दै उद्योग वाणिज्य संघको अगुआई एवं ३० दलिय मोर्चाको सहभागितामा भएको शान्तिपूर्ण आन्दोलनलाई विथोल्न स्थानीय प्रहरी प्रशासनले सर्वसाधारण जनता माथि बर्बर दमन गरेको आरोप सदभावना अध्यक्ष महतोले लगाए ।
बल प्रयोग गर्ने बहानामा प्रहरीले कुनै सम्यमता नअपनाई घरघरमा प्रवेश गरी कुटपिट गर्नुृका साथै बुलेट र म्याद समाप्त भइसकेका टियर ग्यार प्रहार गरी कायरताको परिचय दिने स्थानीय प्रहरी प्रशासनको प्रमुखलाई तत्काल निलम्बन गरी कारवाही गरिनुपर्नेमा जोड दिए ।
एमाओवादीका पोलिटब्युरो सदस्य एवं कोषाध्यक्ष हरीबोल गजुरेलले वर्षौदेखि राज्य सत्ता चलाउनेहरु मधेशी जनता माथि दमन शोषण गर्ने कार्य अझै पनि कायमै राखेको प्रति कडा आलोचना गर्दै संविधान निर्माणको प्रक्रिया सहज बनाउनुपर्ने समयमा झन् असहज परिस्थिति उत्पन्न गराएर एमाले र काँग्रेस संविधान बनाउने कार्यबाट पंछिरहेको संकेत देखा परेको टिप्पणी गरे । सशस्त्र प्रहरीको दमनबाट हत्या भएका रामअशिष ठाकुरलाई सहिद घोषणा नभएमा चरणबद्ध संघर्षको कार्यक्रम चाडै तय गरिने चेतावनी समेत उनले दिए ।
ठाकुरको शोक सभालाई सम्बोधन गर्दै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रहरी प्रशासनले गरेको दमनबाट अलिकती पनि विचलित नभएका रौतहटका जनतालाई धन्यवाद दिदै अधिकार प्राप्तीका लागि जस्तो सुकै संघर्षको आवश्यक्ता परे मधेशका जनताहरु तयार रहेको संकेत एमाले र काँग्रेसले बुझ्नुपर्ने नत्र आन्दोलनका आँधी वेरीले मधेशविरोधी तत्वलाई उडाएर लैजाने चेतावनी दिए ।
३० दलिय मोर्चाका नेता एवं कार्यकर्ताहरुले राज्यको दमन विरोधी नितीलाई घोर निन्दा गर्दै स्थानीय प्रहरी प्रशासनलाई निलम्बन गरी मृतक रामआशिष ठाकुरलाई सहिद घोषणा गरेमा मात्रै उहाँ प्रति सच्चा श्रद्धान्जली हुने बताएका थिए ।











