२६ चैत, काठमाडौं । दोस्रो संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेका बेला युरोपेली सांसदको टोलीले तेस्रो संविधानसभा निर्वाचनको संभावनाबारे संविधान सभाका अध्यक्ष सुवास नेम्वाङसँग जिज्ञासा राखेको छ ।
नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको प्रतिनिधि मण्डलले बिहीबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेट गर्दै तेस्रो संविधान सभा निर्वाचनको सम्भावनाबारे प्रश्न गरेको थियो ।
जवाफमा संविधानसभाका अध्यक्ष नेम्वाङले फेरि अर्को संविधानसभाको निर्वाचन कल्पना वाहिरको विषय भएको जवाफ दिएका थिए । पहिलो संविधानसभा र दोस्रो संविधानसभाका कारण नै लामो समय व्यतित भइसकेकाले यही नाममा अब अर्को निर्वाचन हुन नसक्ने जवाफ आफूले दिएको दावी समेत नेम्वाङले संचारकर्मीहरुसँग गरे ।
प्रतिनिधि मण्डलले सभाध्यक्ष नेम्वाङसँग संविधानसभाको अहिलेसम्मका उपलव्धि र अवलम्बन गर्ने प्रक्रियालगायतका विषयमा चासो राखेको थियो ।











