२५ चैत, काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ मा हुन लागेको संविधानसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले सात सय बढी कर्मचारीलाई मतदान स्थलमा खटाएको छ । शनिबार हुन लागेको निर्वाचनका लागि आयोगले सबै कर्मचारीहरुलाई बन्दोबस्तीका सामाग्री सहित सम्बन्धीत मतदान स्थलमा पठाएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान हुने दुई दिन अगाडि चैत २६ गते नै सम्बन्धीत मतदान केन्द्रमा पुग्नेगरी ३५० कर्मचारी र ४२० जना स्वयंसेवकलाई सदरमुकामेदेखि पठाएको छ । क्षेत्र नम्बर एकका १९ गाउँ विकास समिति र एउटा नगरपालिकाका ११ वटा वडाहरुमा रहेका ३५ मतदान स्थलका ७० वटा मतदान केन्द्रमा निर्वाचनका सामाग्री सहित कर्मचारीलाई पठाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख टोलराज उपाध्यायले जानकारी दिनुभयो ।
हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीहरु रहने व्यवस्था गरिएको छ । निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग हुने भ
एकाले आवश्यक पर्ने प्राविधिक जनशक्ति पनि तयारी अवस्थामा राखिने निर्वाचन आयोगले जनाएको छ ।
मतदान केन्द्रमा तोकिएका सबै कर्मचारीहरु मतदान हुनुभन्दा दुई दिन अगाडि केन्द्रमा पुगी मतदान केन्द्रको निर्माण, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरुलाई निर्वाचन सम्बन्धी तालिम दिने व्यवस्था गरिएको छ । यस्तै आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भएकाले यसका बारेमा जानकारी नभएका व्यक्तिहरुलाई सोही दिननै जानकारी दिने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले बताउनुभयो ।
आयोगले मंगलबारनै मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई निर्वाचनमा प्रयोग हुने ७३ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरेर पठाएको छ । ‘हामीले कर्मचारीलाई सम्पूर्ण सामाग्री सहित मतदान केन्द्रमा पठाएका छौं, प्राविधिक रुपमा केही समस्या आएमा आधा घण्टामै सम्बन्धीत केन्द्रमा पुग्न सकिने गरी जगेडामा प्राविधिक टोली राखेका छौं ।’ निर्वाचन कार्यालयका प्रमुख उपाध्यायले भन्नुभयो ।
यस्तै आयोगले मतदान अवधीभर अनुगमन गर्नका लागि निर्वाचन आयोगका सहसचिवको नेतृत्वमा चार सदस्यीय अनुगमन समिति समेत बनाएको छ । निर्वाचनको समयमा हुनसक्ने जस्तोसुकै अवस्थाका बारेमा जानकारी लिने र सिधै निर्वाचन आयोगलाई जानकारी दिन सहज होस भन्ने उद्देश्यले अनुगमनलाई समेत चुस्तता दिइएको आयोगको भनाई छ ।
सुरक्षाका लागि सबै मतदान केन्द्रमा प्रयाप्त सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । निर्वाचनमा सबै मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले प्रयाप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरिएको बस्नेतले जानकारी दिनुभयो । सुरक्षाका लागि सशस्त्रबाट पनि सुरक्षाकर्मीहरु खटाइसकेको छ । सुरक्षाका लागि गृह मन्त्रालयका सचिव सहितको टोलीले अनुगमन तथा योजना बनाइसकेको छ ।











