२५ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले एक साता भित्र सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेको छ । प्रधानमन्त्री कोइरालालाई भेट गर्न वुधबार बालुवाटार पुगेका एकीकृत नेकपा माओवादीका नेताहरुले एक साताभित्र सहमतिको वातावरण बनाउन आग्रह गर्दे सहमतिको वातावरण नबने अझै संघर्ष गर्ने चेतावनी दिएको हो । माओवादी नेताहरुले संविधानसभाको बैठक बस्नुअघि नै दलहरुबिच सहमति बन्नुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्री कोइरालाले सहमतिका लागि आफूहरु हदैसम्मको लचक भएको भन्दै सहमतिका लागि प्रयास जारी राख्ने बताएका थिए । उहाँले मुलुकलाई निकास दिनका लागि दलहरुबिचको सहकार्य अनिवार्य भएको भन्दै सहमतिको विकल्प नभएको समेत बताएका थिए । त्यस्तै एकीकृत माओवादीका नेताहरुले आफूहरुको आन्दोलनका क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गरिएको एकीकृत माओवादीका महासचिव कृष्ण बहादुर महराले जानकारी दिए ।
त्यस्तै भेटमा संलग्न नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले सहमतिमा नै निकास निकाल्न पनि तयार रहेको जानकारी दिए ।
यसअघि ३० दलीय विपक्षी मोर्चाको हिजोको बैठकले यही चैत ३० गतेसम्म वार्ताको प्रयास गर्ने निर्णय गर्दै बन्द लगायतका कार्यक्रम स्थगन गरेको थियो । दलहरुले संविधान सभाको बैठकअघि नै निकास निकाल्ने भन्दै राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।











