२३ चैत, काठमाडौं । नेकपा एमालेका नेता रामनाथ ढकालको आज अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा ढकालको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा एमालेलगायत अन्य दलका नेताहरु आर्यघाट पुगेका थिए ।
अन्त्येष्टिअघि ढकालको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि एमाले पार्र्टी कार्यालय बल्खुमा राखिएको थियो । बल्खुमा पार्टी अध्यक्ष केपी ओलीले ढकालको पार्थिव शरीमा पार्टीको झण्डा झोढाएका थिए । ढकालको शवमा एमालेका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

एमाओवादीमा प्रमुख सचेतक गिरीराज मणि पोखरेल, काग्रेस नेता तथा संचारमन्त्री डा. मिनेन्द्र रिजाल लगायतका नेताहरु बल्खु पुगेर ढकालको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका थिए ।
एक हप्तादेखि काठमाडौं स्वाइनफ्लु र निमोनियको उपचार गराइरहेका ढकालको सोमबार दिउँसो निधन भएको थियो । क्षयरोग र लिम्फोबाट पीडित ढकाललाई केही समययता स्वाइन फ्लुको पनि संक्रमण भएको थियो ।

ढकाललाई उपचारका लागि भारत लैजाने प्रयास गरिए पनि लामो हवाइ यात्रामा झनै समस्या आउनसक्ने डाक्टरको सुझावका कारण एयर एम्बुलेन्सलाई फिर्ता पठाइएको थियो ।
वि. सं. २०१९ पुस ५ गते गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल एमालेको पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्ज थिए । गत संविधान सभामा उनी राज्य व्यवस्था समितिका सभापति समेत थिए । उनी २०५० सलामा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।











