२१ चैत, काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले अहिलेको सरकारले प्रतिबद्धता व्यक्त गरेअनुरुप अबको दुई वर्षभित्र देशलाई लोडसेडिङ मुक्त देश बनाउने आश्वासन दिएकी छिन । सावित्री जंगम थापाद्वारा लिखित जमुना काव्य विमोचन गर्दै शनिबार काठमाडौंमा मन्त्री ज्ञवालीले दुई वर्षभित्र लोडसेडिङ हटाउने दावी गरिन् । सरकारले तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता सुरुमै व्यक्त गरेको र सोही अनुरुप अबको दुई वर्षभित्र व्यवहारमा नै देखिने ज्ञवालीको भनाइ थियो ।
कवयित्री जंगमद्वारा लिखित जमुना स्मृति काव्यको विमोचन गर्दै मन्त्री ज्ञवालीले काव्यमा आमालाई महत्व दिइएकोमा प्रशंसा गरिन् । आफूले पनि आमाका नाममा पुरस्कार तथा संस्था स्थापना गरेको भन्दै नारीको उत्थान र अधिकारका लागि यस्ता कार्य हुनुपर्ने ज्ञवालीले बताइन् । आफूले जन्म दिएको सन्तानलाई आमाले सिफारिश गरेर नागरिकता दिन पाउनुपर्ने धारणा समेत उनले व्यक्त गरिन् । आमाका नामबाट नागरिकता दिनुपर्ने लडाइँमा आफूहरु रहेको मन्त्री ज्ञवालीले भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरे, साहित्कार गीता केशरी, शिक्षासेवी कान्ता भट्टराई, साहित्यकार भरत जंगम, दीपक जंगमले स्मृति काव्यमाथि टिप्पणी गर्नुभएको थियो । कवयित्री सावित्री जंगमले आमाको सम्मानामा कृति लेखेर प्रकाशन गरेको उल्लेख गरेकी थिइन् ।













