२१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ३० दलको आन्दोलनलाई कम नठान्न चेतावनी दिएका छन् ।
३० दलीय मोर्चाले शनिबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले ३० दलीय मोर्चाको आन्दोलन दिर्घकालीन हुने भन्दै कसैले कम ठाने ठूलो भूल हुने चेतावनी दिएका हुन् । उनले कांग्रेस र एमाले सहमतिको पक्षमा नरहेको भन्दै सहमति भए तत्काल आन्दोलन फिर्ता लिन आफूहरु तयार रहेको स्पस्ट पारे ।
उनले आन्दोलनकारी दलहरुलाई पन्छाएर संविधान निर्माणको कार्य बढाए आन्दोलन निरन्तर चल्ने उल्लेख गरे । उनले मुलुकको हरेक परिवर्तनको आन्दोलनमा माओवादी सहभागी भएको भन्दै केही दलहरु परिवर्तनको विरोधमा रहेको र पुरानै अवस्थामा मुलुकलाई फर्काउन प्रयासरत रहेको आरोप समेत लगाए । उनले सहमतिका लागि आफूहरु लचक रहेको भन्दै कांग्रेस एमाले नै सहमतिको पक्षमा नरहेको धारणा उनले राखे ।
अध्यक्ष प्रचण्डले अहिले वार्ता मार्फत सहमति खोज्दै संविधान लेखनमा अग्रसर हुन आफुहरु तयार रहेको बताए । एक अर्को प्रसंगमा उनले वर्तमान सरकार भ्रष्टाचारमा फसेको आरोप समेत लगाए ।
कार्यक्रममा उद्योगी तथा व्यवसायीहरुले आमहड्तालसहितको कार्यक्रमको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । लगातारको बन्द र हड्तालले सर्वसाधारणलाई मर्का पर्ने बताउँदै उनीहरुले प्रचण्डलाई आमहड्तालको कार्यक्रम फिर्ता लिन सुझाव दिएका हुन् ।











