२१ चैत, रौतहट । सशस्त्र प्रहरीको गाडीको ठक्करबाट शुक्रबार राति गौर नगरपालिका – १० का ५० वर्षीय रामआशिष ठाकुरको मृत्यु भएपछि रौतहट सदरमुकाम गौर तनावग्रस्त भएको छ ।
आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले दिउँसो २ बजेबाट अनिश्चितकालका लागि कर्फयूको घोषणा गरेको छ । अहिले आन्दोलन मथ्थर बनाउन प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।
सशस्त्र प्रहरीले शुक्रबार राती घरमै पसेर स्थानीयलार्इ कुटपिट गरेपछि शनिबार बिहानैबाट आक्रोशित स्थानीय सडकमा उत्रँदा गौर तनावग्रस्त भएको हो ।
आन्दोलनमा उत्रेका स्थानीयले गौरमा प्रहरीको एक भ्यानमा आगो लगाएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेपछि प्रहरीले दर्जनौ राउन्ड हवार्इ फायर गरेको छ ।
स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि अहिले सयौं प्रहरी खटिएका छन् । हजारौं स्थानीय सडकमा उत्रेर आन्दोलित भएपछि स्थानीय प्रशासनले गौरलार्इ निषेधित क्षेत्र घोषणा गरेको छ ।
बिहानैबाट भएको झडपले उग्ररुप लिएपछि प्रहरीले आन्दोलनकारीलार्इ नियन्त्रणमा लिन ५० राउन्ड बढी हवार्इ फायर गरेको छ । प्रहरीसँगको झडपमा घाइते भएका तीनजनालार्इ उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।











