२१ चैत, बुटवल । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा।बाबुराम भट्टराईले विगतमा दलहरुबीच भएका सहमति र सम्झौतालाई केन्द्रमा राखेर छलफल गर्ने हो भने निकास निस्कन सक्ने बताएका छन ।
क्रान्तिकारी पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तापक्ष र आन्दोलनकारीले जित्नेगरी निकास खोज्नुपर्नेमा जोड दिए । विपक्षी मोर्चाले थालेको आन्दोलन बाध्यता भएको भन्दै दुवै पक्षलाई मान्य हुनेगरी निकास खोज्नुपर्ने खाँचो औल्याए ।
धेरै वर्ष लडेर ल्याएका मुद्दाहरुलाई संविधानमा स्थापित गर्ने गरी निकास नखोजे मुलुक फेरी झन ठूलो द्धन्द्धमा फस्ने भन्दै उनले द्धन्द्धमा फस्न नदिन विगतका सहमति र सम्झौतालाई केन्द्रमा राखेर निकास खोज्नु नै अहिलेको आवश्यकता भएको बताए । माओवादीबाट विभाजन भएकाहरुवीच पनि केही मुद्दामा कार्यगत एकता रहेको उल्लेख गर्दै उनले आन्दोलनले नया उचाइ हासिल गर्ने विश्वास ब्यक्त गरे ।
सभामुख एकपक्षीय रुपमा अगाडी बढेको भन्दै डाक्टर भट्टराईले सभामुखले के गर्न खोजेको हो भन्नेबारेमा आफूहरु अनविज्ञ रहेको बताए । माओवादीले अर्को निर्वाचन नभएसम्म सत्तामा सहभागिता नजनाउने उल्लेख गर्दै भट्टराईले संविधान निर्माणका लागि प्रमुख पक्षहरुबीच सहमति भए प्रक्रिया छोटाएर भएपनि छिटै संविधान जारी गर्न सकिने बताए ।
एमाओवादी अवध राज्य समितिले शुक्रबार बुटवलमा गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका भट्टराई शनिबार भैरहबाको कार्यक्रममा पनि सहभागी भएका छन ।













