काठमाडौ, चैत्र २० / प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा हुने भारतको उमेद्वारीलाई नेपालले समर्थन गर्ने वचनवद्धता प्रकट गरेका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव एस. जयशंकरसँगको भेटमा उनले यस क्षेत्र र विश्वमा नै भारतको गतिशिल नेतृत्व हुनेमा आफू आशावादी रहेको बताए ।
जयशंकले शुक्रबार अपरान्ह सिंहदरवारमा कोइरालासँग भेट गरेका हुन् । भेटमा नेपाल भारतको ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहयोग, आर्थिक–सामाजिक विकास, क्षेत्रीय र विश्व मामिलाका सम्बन्धमा कुराकानी भएका प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताएका छन् ।
कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबलम्बन गरेको ‘नेबरहुड फस्र्ट नीति’को सराहना गरे । भारतले नेपालको आर्थिक र सामाजिक रुपान्तरणको लागि उदारतापूर्वक गरेको सहयोगको पनि कोइरालाले प्रशंसा गरे ।
उनले नेपाल र भारतबीच युगौं पुरानो ऐतिहासिक,सांस्कृतिक आत्मीय, मित्रवत र अनुपम सम्बन्धको चर्चा गर्दै नेपालका लागि भारत सबैभन्दा निकटको असल मित्र रहेको चर्चा गरे । मोदीको नेपाल भ्रमणपछि दुई देशबिचको सम्बन्ध अझ सुमधुर भएको जयशंकरसँगको भेटमा कोइरालाले उल्लेख गरे । भेटमा भारतीय विदेश सचिव जयशंकरले दक्षिण एशियालीका अधिकांश मुलुकहरु विद्युत अभाव भोगिरहेकाले विद्युतको समन्वयात्मक ढंगले विकास गरेर अभाव पूर्ति गरी सबै मुलुकको समान ढंगले विकास गर्न सकिने बताए ।
उनले कोइरालाको नेतृत्वमा नेपालले नयाँ संविधान पाउनेमा आफू आशावादी रहेको पनि बताए ।











