२० चैत, रौतहट । सेवा केन्द्र विस्तारको विषयलाई लिएर रौतहटको गौरमा आज तेश्रो दिन पनि प्रदर्शन जारी छ । नेपाल सरकारले नापी, मालपोत र भूमिसुधार कार्यालयको चन्द्रनिगाहपुरमा पनि सेवा केन्द्र स्थापना गर्ने निर्णयको विरुद्धमा उद्योग वाणिज्य संघ रौतहटको अगुवाईमा आज तेश्रो दिन पनि गौर बजार बन्द भएको छ ।आन्दोलनकारी र प्रदर्शनकारी बिच गौर नगरपालिका वडा नं. ९ मा झडप हुदा ६ जना प्रदर्शनकारी घाइते भएका छन ।
सुरक्षाकर्मीले दुई दर्जनौ सेल अश्रुग्यास र रबरका गोलि प्रहार गरेको छ । सुरक्षाकर्मीले टोलमा अश्रुग्यास प्रहार गरे पछि स्थानियहरु झनै उग्र भएका छन । गौरका विभिन्न स्थानहरुमा अन्दोलनकारी र सुरक्षाकर्मी बिच पटक पटक झडप भइरहेको छ । सुरक्षाकर्मीले प्रहार गरेको गोलि लागी मुडवलवा गाविस ६ का विद्यानन्द यादव गम्भीर घाइते भएका छन । प्रहरीले रबरको गोलि प्रहार गरेको भने पनि उपचारमा संलग्न डा. मनोज कौशलले धातुको गोलीले यादव घाइते भएको जनाएका छन । प्रर्दशन र आन्दोलन नियन्त्रण गर्न प्रहरीले रबरका गोली हवाई फायर गरेको र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झडपका क्रममा फोरम नेपाल रौतहटका महिला अध्यक्ष शोभा यादव, पूर्व सभासद बबन सिंह, राजेश यादव लगायत ६ जना घाइते भएका छन् भने ३ जना सुरक्षाकर्मी घाइते भएका छन । प्रदर्शनकारीको भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।यता प्रहरीले शान्तीपूर्ण आन्दोलनमा दमन गरेको फोरम लोकतान्त्रीक का अध्यक्ष अजय गुप्ताले बताएका छन । आफूहरुले शान्तीपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास र गोली चलाएको उनको आरोप छ ।हरेक सरकारी कार्यालय र मुख्य चोकहरुमा ठूलो सँख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । आन्दोलन नियन्त्रणमा लिन रातोमाटे गण हेटौडा बाट पनि ठूलो सँख्यामा सुरक्षाकर्मी झिकाइएको प्रहरी उपरिक्षक सानु बाबु थपलियाले बताए ।











