२० चैत, सुर्खेत एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू भूमिकाविहीन भएकाले देशले दुःख पाएको बताएका छन् । अहिले आफू पार्टीको प्रमुख पदमा नभएको र राष्ट्रिय राजनीतिमा समेत भूमिका निर्वाह गर्ने अवस्था नहुँदा देश र जनताले दुःख पाइरहेको नेपालको भनाइ छ ।
अछाममा पार्टीको अधिवेशनमा सहभागी हुन जाने क्रममा शुक्रबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले आफूले भूमिका निर्वाह गर्ने अवसर पाए वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुने दाबी गरे ।
‘पार्टी बाहिरबाट भूमिका बढाउन प्रस्ताव आइरहे पनि अहिले म आफ्नै पार्टीको प्रमुख व्यक्ति नभएकाले त्यो सम्भव छैन’, नेता नेपालले भने, ‘देशलाई चाँडो निकास दिनका लागि मैले चाँडै पहल थाल्नेछु ।’
‘हिजो म पार्टीको मूख्य जिम्मेवारीमा थिएँ, राष्ट्रिय राजनीतिमा पनि मेरो भूमिका महत्वपूर्ण थियो’, विगतमा आफू पार्टीको प्रमुख व्यक्ति रहँदा राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न पाएको स्मरण गर्दै नेता नेपालले भने, ‘मेरो समन्वयकारी भूमिकाले नै माओवादीसँग दिल्लीमा १२ बुँदे सम्झौता भयो, माओवादी लडाकु र हतियारको पनि व्यवस्थापन भयो ।’
अहिले आफूले चाहेर पनि राष्ट्रिय राजनीतिमा भूमिका बढाउन सक्ने अवस्था नरहेको नेपालको भनाइ थियो । ‘अहिलेको गतिरोध फुकाउन र समयमै संविधान जारी गर्न समन्वयकारी भूमिका आवश्यक छ’, उनले भने, ‘तर सबैले आफ्नामात्र अडान अघि सारिरहेका छन् । यसले कसरी निकास निस्कन्छ रु अब अहमता होइन, सम्यमता अपनाएर समाधान खोजौं ।’
जेठ १५ मा संविधान जारी गर्नेगरी दलहरु छलफलमा बस्नुपर्नेमा नेता नेपालले जोड दिए । ‘कहिलेसम्म जनतालाई संविधानका लागि कुराउने रु अब त जनताले माफी दिदैनन्’, तेस्रो संविधानसभाको सम्भावना नरहेको बताउँदै नेपालले भने, ‘वर्तमान नेतृत्वले यो कुरा बुझ्न जरुरी छ ।’
संघियताको सवालमै दलहरुबीच मूख्य विवाद रहेकाले एमालेको सात प्रदेशको अवधारणा सबैका लागि उपयुक्त सहमतिको विन्दु हुनसक्ने उनको दाबी छ ।
माओवादी अध्यक्ष प्रचण्डले अहिलेको समस्या समाधानका लागि आफूलाई भूमिका बढाउन आग्रह गरेको जानकारी दिँदै नेता नेपालले आवश्यक परेमा समन्यकारी भूमिका निर्वाह गर्ने बताए ।
एमालेका उपाध्यक्ष भीम रावलसँगै आएका नेता नेपालले अब संविधान निर्माणमा ढिलाइ गर्न नहुने बताए । सहमति भएका विषयमा मस्यौदा तयार पारेर तत्काल जनतामा लैजानुपर्ने भन्दै उनले नमिलेका विषयलाई जनताको अभिमतका आधारमा छिनोफानो गर्नुपर्ने सुझाव दिए ।











