२० चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालनी कामु कार्यकारी प्रमुख सुवास निरौलाले ३४ करोड रुपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । निरौलाले ३३ करोड ७२ लाख ५ हजार भ्रष्ट्राचार गरेको दावी गर्दै विगो र सोही अनुसारको जरिवाना दावी अख्तियारले गरेको छ ।
नेपाल पर्यटन वोर्डमा भएको भनिएको भ्रष्टाचारमा संलग्नहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध ६९ करोड रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर भएकामा पर्यटन वोर्डका हालका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठसहित पूर्व कामु कार्यकारी प्रमुख सुवास निरौला, कानुन मन्त्रालयका सचिव रन्जनकृष्ण अर्याल, वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र पूर्वसचिव सुशील घिमिरे समेत छन् ।
त्यस्तै अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी विरुद्ध पनि मुद्दा दायर भएको छ भने वन मन्त्रालयका सहसचिव मेघवहादुर पाण्डे रनागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन पनि परेका छन् ।
पूर्व पर्यटन सचिव सुशील घिमिरे विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले मुद्दा दायर लगत्तै बहालवाला सचिव, सहसचिव लगायत सरकारी अधिकारीहरुको जागिर स्वतः निलम्बन भएको छ ।
सुवास निरौला र रन्जनकृष्ण अर्याल बाहेक अरु सबै सचिव र सहसचिवहरु पर्यटन बोर्डमा पदेन सदस्य भएबापत स्वतः यो भ्रष्टाचार मुद्दामा तानिएका हुन् ।
यसैबीच अख्तियारले शुक्रबार बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान छापा मारेको छ । भौतिक पूर्वाधार निर्माण र सामान खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान छापा मारेको छ ।
अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका एसपी लालमणि आचार्यको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको आर्थिक प्रतिष्ठान, एकाडेमिक, प्रशासनिक र योजना शाखामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।











