नरेश सर्राफ/ वीरगन्ज १९ चैत्र
राष्ट्रपति डा रामवरण यादवले दलहरुलाई जाति, क्षेत्र र दलको दायरा माथि उठेर मुलुकलाई छिटो निकास दिन आग्रह गरेका छन् । जैन श्वेताम्बर तेरापन्थी सभाले विहिबार वीरगंजमा आयोजना गरेको भगवान महावीरको २६१४ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । राष्ट्रपतिले आफूले जनताको तर्फबाट दलहरुलाई आग्रह गरेको भन्दै संक्रमणकाल लम्बिदै गएकाले परीवर्तनका संवाहक दलहरु एकै ठाउमा उभिएर अलमल नगरी अब जनअकांक्षा र राष्ट्र चाहना अनुसार छिटो भन्दा छिटो संविधान दिन आग्रह समेत गर्नुभयो । उहाले काग्रेस, एमाले, एमाओवादी र मधेशवादी दललाई विशेष आग्रह गर्दै सबै दल बसेर सहमतिको साझा बिन्दु खोजेर अघि बढी मुलुकलाई स्थायीत्व, स्थिरता, शान्ति र विकास तर्फ अघि बढाउन आह्वान पनि गर्नुभयो । राष्ट्रपति डा यादवले चीनको आर्थिक प्रगति देखेर आफू पनि चकित भएको बताउनु भयो । उहाले नेपालमा पनि शान्ति, एकता, सद्भाव, स्थिरता र अहिंसा भए हामी पनि आर्थिक प्रगति गर्न सक्ने बताउनु भयो । भगवान महावीरको अहिंसा र शान्तिको सन्देश आज पनि उत्तिक्कै सान्र्दभिक रहेको बताउदै राष्ट्रपति डा यादवले तेरापंथ धर्म संघका एकादशम आचार्य महाश्रमणको नेपाल आगमनले यहा धार्मिक पर्यटनको सम्भावना पनि औल्याएको बताउनु भयो । आफू चीन भ्रमणबाट बुधबार स्वदेश फिर्दा त्रिभुवन विमानस्थलमै प्रधानमन्त्री शुशिल कोइरालासंग डा गोबिन्द केसीको अनशन र उनको समर्थनमा मुलुकभरीका चिकित्सकहरुले सेवा ठप्प पारेपछि यो समस्या अविलम्ब समाधान गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएको समेत उहाले बताउनु भयो । डा केसीको स्वास्थ्यलाई ध्यानमा राखी छिटोभन्दा छिटो उनको माग पुरा गर्न ध्यानाकर्षण गरएकोमा प्रधानमन्त्रीले पनि छिटै डा केसीको जायज माग सम्बोधन हुने बताएको चर्चा राष्ट्रपतिले गर्नुभयो । तेरापंथ धर्म संघका एकादशम आचार्य महाश्रमणले भगवान महावीरको शान्ति र अहिंसाको सन्देश सबै मुलुक, भेष, परिवेशका लागि भएकाले पुरा जगतले उनीबाट प्रेरणा लिन सक्ने बताए । उनले पनि दल भन्दा ठूलो राष्ट्र हुने बताउदै साम्प्रदायिक एकता र सद्भावना सबैमा हुनु पर्नेमा जोड दिए । समारोहमा भारत विहार पश्चिमी चम्पारणमा विजेपी सांसद डा संजय जैसवाल लगायतको सहभागिता रहेको थियो ।











