१९ चैत, काठमाडौं । डा. गोविन्द केसीका माग बारे अध्ययन गर्न न्यायिक आयोग गठन गर्ने शर्तमा दुवै पक्षबीच कुराकानी मिलेको छ । सरकारी वार्ता टोली र डाक्टर केसीबीच सहमति भएपछि आज केसीले केहीबेरमा अनशन तोड्ने भएका छन् । डा. केसीको अनशन तोड्न केसी सरकार दुवै पक्ष सहमत भएको जानकारी आवासीय चिकित्सक संघका अध्यक्ष रामचन्द्र सापकोटाले दिए ।
शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी विहीबार १२ औं दिनमा अनशन तोडन सहमत भएका छन् । सरकारी वार्ता टोलीसँग ११ बुँदे सहमति भएपछि केसी अनशन तोड्न राजी भएका हुन् ।
केसीका मागलाई सम्वोधन गर्दै ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको सरकारी वार्ता टोलीका सदस्य तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलले जानकारी दिए ।
सहमति पत्रमा डा. केसीले हस्ताक्षर गरेका छन् । यसैगरी सरकारका मुख्य सचिव लिलामणि पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पोख्रेल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।
डा. गोविन्द केसीले विरामी र मजदुरको हातबाट जुस पिएर अनसन तोडेका छन् । सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसीले विहीबार अनसन तोडेका हुन् ।
शिक्षण अस्पताल बाहिर जुत्ता सिलाउने काम गर्दै आएका सप्तरीका सत्यनारायण राम र केसीले नै नै उपचार सेवा दिइरहेका १० वर्षीय सुवास अधिकारीका हातबाट केसीले जुस खाएका थिए । अनसन तोडेपछि डा. केसीले अनसनमा साथ दिने सबैलाई धन्यवाद व्यक्त दिएका छन् ।
डा. केसीसँग सरकारले पाँचै विकास क्षेत्रमा आगामी ५ वर्षमा कम्तिमा एक एक मेडिकल कलेज हुने नीति लिने सहमति गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा मध्यपश्चिमाञ्चलमा एक मेडिकल कलेज स्थापना गर्ने कार्यलाई अगाडि बढाउने सहमति भएको छ । चिकित्सा विश्व विद्यालय विधेयक आगामी तीन महिनाभित्र संसद्मा पेश गर्ने सहमति भएको । यस्तै स्वाथ्य शिक्षा निति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सहमतिपत्रमा उल्लेख छ ।











