१६ चैत, काठमाडौं । विपक्षी ३० दलीय मोर्चाले चैत २३ गतेसम्मका सबै कार्यक्रम फिर्ता लिएको छ । मोर्चाको आज बसेको बैठकले २४ गतेदेखि २६ गतेसम्म गर्ने आम हडतालको तयारी गर्ने निर्णयसहित अन्य कार्यक्रम फिर्ता लिएको हो । आम हडतालको तयारीका लागि अन्य कार्यक्रम फिर्ता लिइएको एमाओवादी नेता गोपाल किराँतीले जानकारी दिनुभएको छ ।
त्यस्तै सत्तापक्षको ठोस प्रस्ताव नआएसम्म वार्ताको टेवुलमा समेत नबस्ने निर्णय मोर्चाले गरेको छ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एकपक्षीय ढंगले संविधान सभाको बैठक बोलाएकोले संविधान सभा बैठकमा उपस्थित नहुने निर्णय मोर्चाले गरेको छ ।
त्यस्तै मोर्चाले डाक्टर गोविन्द केसीका मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेको छ । भिसा प्रोसेसिङ विदेशीलाई दिने तयारी तत्काल रोक्न समेत मोर्चाले माग गरेको छ ।











