१६ चैत, काठमाडौं । एकीकत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले सोमबार मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गरेको छ । सहमतिमा नै संविधान जारी गर्नुको साटो सत्तारुढ दलले प्रक्रियाबाट जबरजस्ती संविधान निर्माण गर्न लागिएको भन्दै मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो । कार्यकर्ताहरुले विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन ।
मोर्चाद्वारा यसअघि नै घोषित दोश्रो आन्दोलनका कार्यक्रम अनुसार मोर्चाका नेता तथा कार्यकताहरुले प्रशासन कार्यालय घेराउमा सहभागी भएका थिए । मोर्चाले पहिचान सहितको संघीयता तथा संघीयताको सहितको संबिधान सहमतिकै आधारमा निर्माण हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । आफ्ना मागहरु पूरा नभएर आन्दोलनलाई सशक्त पार्ने एकीकृत नेकपा माओवादीले चेतावनी दिएको छ ।
मोर्चाको बिरोध प्रर्दशनका कारण केहीबेर देशभरकै जिल्ला प्रशासन कार्यालय क्षेत्रको वातावरण अस्तव्यस्त भएको थियो । सत्तारुढ दल एकलौटी ढंगले संबिधान निर्माणमा लागेको र बिपक्षीहरुलाई संबिधान लेखन कार्यवाट पाखा लगाउन खोजेको भन्दै मोर्चाले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।











