१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले विगतमा भएको सहमति तोड्ने काम कांगे्रस र एमालेबाट भएको आरोप लगाएका छन् । एकीकृत माओवादी सहितका ६ माओवादीले संयुक्त रुपमा शनिबार काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले विभिन्न वाहानामा सत्तारुढ कांग्रेस र एमालेले विगतमा भएका महत्वपूर्ण सहमति तोड्दै एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाए । उ
नले राजनीतिक र कानूनी मुद्दा ब्यूँताएर माओवादी शक्तिलाई सिध्याउन खोजिएको भन्दै अब सबै माओवादी एक भएर सडकमा उत्रनुको विकल्प नभएको उल्लेख गरे । माओवादीहरु अहिले पनि क्रान्तिकारी नै रहेकाले आफूहरुलाई सखाप गर्ने देशी विदेशी रणनीतिमा कुनै परिवर्तन नआएको उनले दावी गरे । उनले सबै माओवादीलाई एकतामा ल्याएर आन्दोलन गर्नु कुनै अपराध नभएको भन्दै केही दलहरु माओवादीलाई कमजोर बनाउने खेलमा लागेको तर्क समेत गरे ।
बीचको समयमा माओवादी केही कमजोर देखिए पनि जनताको साथ र समर्थन हेर्दा कांग्रेस, एमाले र राजावादी जस्तो खत्तम नबनेको टिप्पणी प्रचण्डले गरे । कार्यक्रममा अन्य माओवादी नेताहरुले क्रान्तिलाई पूरा गर्नका लागि माओवादीहरु एक हुनुको विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा नेकपा माओवादीका संयोजक मातृका यादव, नेकपा–माओवादीका सचिव देव गुरुङ, नेकपा एकीकृतका अध्यक्ष परी थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले माओवादी शक्ति एक हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।











