१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत नेकपा माओवादीमा विचार, सिद्धान्त सकिएका कारण लौरो लिएर सडकमा उफ्रिएको आरोप लगाएका छन् ।
पार्टी कार्यालय बल्खुमा माओवादी छाडेर पुनः एमालेमै फकिएका अर्थविद् डिल्लीराज खनाल लगायतलाई स्वागत गर्दै अध्यक्ष ओलीले माओवादीमा विचार तथा सिद्धान्तको खडेरी परेको आरोप लगाएका हुन् । सही विचारबाट प्रेरित नभएका कारण एमाओवादी सडकमा लौरो देखाएर तर्साउन निस्किएको टिप्पणी उनले गरे ।
उनले गलत कुरा गर्नेहरु बढी चिच्याएर विषय बनाउन लागिरहेको भन्दै त्यसो हुन आफूहरुले नदिने बताए । एकीकृत नेकपा माओवादी जातीय संघीयताको विषमा चिच्याउदँै हिडे पनि एमालेले जातीय संघीयता कुनै पनि हालतमा नस्वीकार्ने उनले चेतावनी दिए । ओलीले पहिलो संविधानसभामा एकीकृत माओवादी खहरे भएर आएको दावी गर्दै छेउछाउबाट ढुंगा माटो बगाएझंै अन्य पार्टीका कार्यकर्ता लगेको तर अब खहरे सुकेको र पार्टी छोडेकाहरु फर्किने क्रम सुरु भएको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले माओवादीले सही अर्थमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै डिल्लीराज खनाल कसरी माओवादीमा प्रवेश गरे भन्नेमा आफू अचम्भित भएको धारणा व्यक्त गरे । एमाले प्रवेश गरेका खनालले एमालेले मात्र सही रुपमा मुलुकको रुप फेर्न सक्ने र नेपालको कम्युनिष्ट केन्द्र बन्न सक्ने दावी गरे । खनाल २०६६ सालमा एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश थिए । तर, गत वर्ष विराटनगर सम्मेलनदेखि निष्कृय रहेका खनालले गत भदौमा राष्ट्रिय प्रगतिशील एकता मञ्च गठन गरेका थिए ।











