१२ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांगे्रस मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।
शुक्रबार बिहानै आफ्नै निवासमा एमाले अध्यक्ष ओलीले काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन् । त्यसपछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल भएको उनको निजी सचिवालयले जनाएको छ । ओलीसँग सिटौला र गच्छदारको छुट्टाछुट्टै भेटमा देशको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने, सहमतिका लागि छलफल अगाडि बढाउने बारेमा छलफल भएको बताइएको छ ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट फर्किए लगत्तै शनिबार शीर्र्ष नेताहरु बीच छलफल गर्न दलहरु तयार भएपछि छलफललाई सहज बनाउन ओलीले भेटघाटलाई तीव्रता दिएको जनाइएको छ ।
मधेसी दलहरुलाई एमाओवादी नेतृत्वबाट छुट्याउने कसरतमा लागेको ओलीले विजय गच्छदारलाई सत्तामा भागिदार कसरी बनाउने भन्ने विषयमा सिटौला र गच्छदारसँग छलफल गरेको गोप्य श्रोतले जानकारी दिएको छ ।











