१२ चैत, काठमाडौं । सरकारले एकीकृत नेकपा माओवादी सहितको ३० दलीय विपक्षी मोर्चालाई आन्दोलन सहितका विरोधका कार्यक्रम फिर्ता गर्न आह्वान गरेको छ ।
शुक्रबार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले एक विज्ञप्ती जारी गर्दे सहमति बाहेक अरु बिकल्प नहुने भन्दै वार्तामा आउन अनुरोध गरेका हुन् । विज्ञप्तीमा गृहमन्त्री गौतमले आन्दोलनका सबै कार्यक्रम फिर्ता नलिएपनि लाठी जुलुस, मसाल जुजुस र सरकारी कार्यालय घेराउन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।
विज्ञप्तीमा सरकार शान्ती व्यवस्था कायम राख्ने दायित्वबाट पछि नहटने हुँदा अनेपेक्षित स्थिति पैदा हुने र त्यसले दलहरुबीको दूरी अझ बढाउँदै लैजाने निश्चित हुने उल्लेख गरिएको छ ।
उनले संविधान सभालाई अवरुद्ध पारेर मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै मोर्चाले सार्वजनिक गरेको गम्भीर र उत्तेजक किसिमका कार्यक्रमले त्यस्ता समुहलाई फाइदा पुग्ने उल्लेख गरेका छन् । उनले सबै विरोधका कार्यक्रम फिर्ता गर्न अनुरोध गर्दै त्यो नसके लाठी, मसाल जुलुस र सरकारी कार्यालय बन्द र आम हड्ताल फिर्तागर्न विपक्षीलाई आग्रह समेत गरेका छन् ।











