१२ चैत, काठमाडौं । सरकारले ताप्लेजुङ लगायतका क्षेत्रहरुमा भएको आगलागीबाट पीडित भएकाहरुलाई राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आगलागी भएका क्षेत्रहरुमा विस्थापितहरुका लागि पुनःस्थापनालगायतका प्याकेज दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले विशिष्ट व्यक्तिहरुको भ्रमणक्रममा हुने ट्राफिक जामका कारण सर्वसाधारणलाई पर्ने समस्या समाधानका लागि बनाउन सकिने योजनाबारे अध्ययन गर्न समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले गत श्रावणमा देशका विभिन्न भागमा गएको बाढी–पहिरोका कारण विस्थापितहरुका लागि एकीकृत कार्ययोजना स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
सरकारले सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका र बेपत्ता पारिएकाहरुको परिवार र घाइतेहरुलाई पाँच लाख रुपैयाँभन्दा बढी नहुने गरी राहत दिने निर्णय समेत गरेको मन्त्री रिजालले जानकारी दिए ।











