१२ चैत, काठमाडौं । सरकार आफैंले उखुको मूल्य निर्धारण गरेको छ । चिनी उद्योगी र किसानबीच सहमति नभएपछि सरकारले चिनीको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैंया तोकेको हो । उद्योगमन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाका अनुसार कृषि विकास मन्त्रालय, चिनी उत्पादक सङ्घ र उखु उत्पादक सङ्घलगायत सरोकारवालासँगको सल्लाहमा मूल्य निर्धारण गरिएको हो ।
मन्त्रालयले चिनी उत्पादक संघ र उखु उत्पादक सङ्घ संबद्ध व्यक्तिलाई तोकिएको मूल्यमा मात्रै उखु खरिद र बिक्री गर्न आह्वान गरेको छ । उखुको सिजन सकिनै लाग्दा मूल्य निर्धारण हुँदा किसानलाई खासै राहत नहुने भएको छ । त्यसमाथि उद्योगीले अहिले निर्धारण भएको मल्य पनि धेरै भएकोले मान्न नसकिने बताएका छन ।
यसैबीच उखु किसानले समेत नयाँ मूल्यको विरोध गरेका छन् । उखु उत्पादक कृषक समितिले विज्ञप्ती जारी गर्दै गत वर्षको भन्दा १५ रुपैयाँ कम मूल्य निर्धारण गरिएकोले त्यो नमान्ने चेतावनी दिएको छ ।













