१२ चैत, काठमाडौं। आयोजक अष्ट्रेलिया एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा विहीबार भएको अन्तिम सेमिफाइनलमा भारतलाई ९५ रनले हराउँदै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले दिएको ३ सय २९ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभर ५ बलमा अलआउट हुँदै २ सय ३३ रनमै समेटियो । भारतका लागि कप्तान महेन्द्रसिंह ध्वनीले सर्वाधिक ६५ रन बनाए ।
शिखर धवनले ४५ रन बनाएको भारतीय इनिङमा अजिन्क्या रहानेले ४४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जेम्स फाउल्क्नरले ३ विकेट लिए । मिचेल स्टार्क र मिचेल जोनसनले समान २–२ विकेट झारे ।
यसअघि निर्धारित ५० ओभरमा अष्ट्रेलियाले ७ विकेट गुमाएर ३ सय २८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले १ सय ५ रन तथा आयरन फिन्चले ८१ रन जोडे । बलिङतर्फ भारतका उमेश यादवले ४ विकेट लिए भने मोहित शर्माले दुई तथा रविचन्द्रन आश्विनले १ विकेट लिए ।
आइतबार दुई आयोजक न्यूजिल्यान्ड र अष्ट्रेलिया उपाधिका लागि भिड्ने छन् ।











