१२ चैत, काठमाडौं । देशमा राजतन्त्र रहँदा राजपरिवारको सवारी सडकमा निस्कियो कि जनताले हिंडडुल गर्ने अधिकारबाट नै वञ्चित हुनुपथ्र्यो । घण्टौं जाममा बसेर टट्टिनुपथ्र्यो । सडकमा पनि जनता आवतजावत गर्न पाउँदैनथे । राजपरिवारका सदस्यहरु गन्तव्यमा पुगरे सोही बाटो नफर्केसम्म जाममा परेर कोही विरामी परेरै मर्ने अवस्था भए पनि सडकमा जनताले सवारी चलाउन पनि पाउँदैनथे र हिंडडुल गर्न पनि पाउँदैनथे ।
तर त्यही सास्ती गणतन्त्रमा पनि जनताले पाएकै छन् । त्यसो त एउटा राजा फालेर धेरै राजा पाल्न जनताले सक्दैनन् भन्ने आवाज पनि समयसमयमा उठ्ने पनि गरेको छ । भैंसी गोठालो गर्ने जनताका छोरा यो देशका प्रथम राष्ट्रपति बने तर उनको जीवनशैली जनताका छोराको जस्तो नभएर पूर्व राजाको जस्तै छ । पूर्वराजाकै जस्तो शैलीमा कनेर बोल्ने, शितलनिवासबाट बाहिर निस्कनुपर्यो भने जनतालाई सास्ती दिने राष्ट्रपतिको कार्य राजाको भन्दा भिन्न देखिन्न ।
राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा जाने क्रममा बिहीबार झण्डै तीन घन्टासम्म राजधानीवासीले सडकमा सास्ती व्यहोर्नुपर्यो । विहान १० देखि अपरान्ह १ बजेसम्म राजधानीको सवारी आवागमन लगभग ठप्प भयो ।
विहान कार्यालय समयमा उसै पनि काठमाडौंका मुख्य सडकमा सवारीको सहज आवागमन लगभग असम्भव हुन्छ । त्यसमाथि राष्ट्रपतिको सवारीका नाममा ठाउँ ठाउँमा सवारी साधानलाई ट्राफिक प्रहरीले रोकेपछि एकैछिनमा अवस्था भयावह भयो ।
बाआओ सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति मध्यहृन साढे १२ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । तर, त्यसको डेढ घन्टाअघिनै प्रहरीले सडक खाली गराइसकेको थियो ।
ट्राफिक प्रहरीले शीतलनिवासदेखि पानीपोखरी, लैनचौर, दरवारमार्ग, रत्नपार्क, सिंहदरवार, माइतिघर, बानेश्वर, तीनकुने हुँदै एयरपोर्टसम्मको सडक खाली गराएको थियो । त्यसको असर भने पूरै राजधानीलाई र्पयो ।
एयरपोर्टतर्फ आउने सबै सवारी साधनहरुलाई गौशाला चोकमा नै रोकिएको थियो, जसका कारण चावहिल चोकसम्म जाम थियो । शीतलनिवासदेखि एयरपोर्टसम्मको सडक मात्र खाली गराएको भएपनि यसको प्रभाव भने राजधानीका अधिकांश मुल सडकमा परेको छ ।











