१२, चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव आज चीन भ्रमणमा गएका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही हुने ‘एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति यादव त्यसतर्फ गएका हुन् । राष्ट्रपति यादवलाई आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा विदाइ गरे।
राष्ट्रपति यादवले पर्सि १४ गते बिहान सम्मेलनलाई सम्बोधन गर्ने तथा त्यही दिन चीनका राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सातदिने चीन भ्रमणक्रममा आज बेलुकी राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एक दिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम छ ।











