नेम्वाङले बुधबार विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि यहि चैत्र १५ गतेभित्र सहमतिमा पुग्न आग्रह गरेका हुन् । १५ गते अपरान्ह ५ बजेसम्म सहमति हुन नसके आफूले सोही दिन संविधानसभाको बैठकका विषयमा निर्णय लिने पनि बताएका छन् ।
सभाध्यक्षको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरुका मुख्य सचेतकहरुले समर्थन जनाएका थिए । उनीहरुले सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन नमिल्ने भन्दै सहमतिको प्रयास गर्दै प्रक्रिया पनि सुरु गर्न सभाध्यक्षलाई आग्रह गरेका थिए ।
बैठकपछि एमाले प्रमुख सचेतक अग्नि खरेलले संविधानका अन्तर्वस्तुमा सहमति वा प्रक्रिया सुरु गर्नुको विकल्प नरहेको बताए ।
एकीकृत माओवादीलगायतका विपक्षी दलहरुले भने सहमति नभइ संविधानसभाको बैठक बोलाए आफूहरुले संविधानसभा छाड्न सक्नेसम्मको निर्णय लिनसक्ने बताएका थिए ।
एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरुले अहिलेसम्म बहिस्कारको नीति मात्रै लिएको भन्दै प्रक्रिया अघि बढाए उक्त नीतिमा पुनःर्विचार गर्नसक्ने बताए ।
दलहरुबीच सहमतिका लागि भन्दै संविधानसभाको बैठक माघ २९ गतेदेखि स्थगित रहेको छ ।











