११ चैत, काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकमा कार्यविभाजनबारे छलफल भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास भक्तपुरमा बसेको बैठकमा महासचिव ईश्वर पोखरलले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि छलफल भएको हो । महासचिव पोखरेलले हिजो दिनभर पदाधिकारी लगायतका नेताहरुसँग सुझाव लिएर प्रस्ताव परिमार्जन गरी आजको बैठकमा प्रस्तुत गर्नुभएको जानकरी पार्टी सचिव प्रदीप ज्ञवालीले दिए । आजको बैठकमा समेत नेता माधव नेपाल उपस्थित छैनन् ।
आजको बैठकले समसामयिक राजनीतिका विषयमा समेत छलफल गरेको ज्ञवालीले वताउनुभयो । खासगरी विपक्षी मोर्चाले घोषणा गरेको आन्दोलनबारे समीक्षा भएको उहाँले जानकारी दिए । सहमतिको प्रयास गर्ने तर अनन्तकालसम्म नपर्खने विषयमा छलफल भएको उहाँले संचारकर्मीलाई जानकारी दिए ।
बैठकले ताप्लेजुङमा भएको भीषण आगलागीप्रति दुःख व्यक्त गर्दै पार्टीका तर्फबाट तत्काल १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । चैत आठ गते धनुषको सबैलामा भएको गोली काण्डमा आफ्नो दलका स्थानीय नेता योगनारायण यादव निर्दोष रहेको दावी समेत एमालेले गरेको छ । आफ्ना नेतालाई जवर्जस्ती दोषी देखाउने खोजको भन्दै एमाले बैठकले निष्पक्ष छानविनको माग गरेको सचिव ज्ञवालीले जानकारी दिए ।











