११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १२ बुँदे सहमति र शान्ति सम्झौतालाई आधार बनाउँदै दलहरुबीच सहमति खोजिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष खनालले संविधानसभाबाट नै संविधान निर्माण गरिनुपर्ने भन्दै यसका लागी विगतको सहमतिलाई आधार बनाई नयाँ सहमति गर्नुपर्ने बताए । उनले दलहरुबिच संबिधान लेखनका विवादित विषयमध्ये अधिकांश विषयमा सहमति नजिक पुगे पनि ठोस निष्कर्षमा पुग्न नसक्नु दुर्भाग्य रहेको उल्लेख गरे । नेता खनालले विपक्षी गठबन्धनले चाहेजस्तो एकल जातीय आधारमा संघीय प्रदेश निर्माण हुनै नसक्ने जिकीर गरे । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी विपक्षीको विरोधका कारण गुम्ने खतरामा पुग्ने बताए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले सत्तारुढ दलले विगतको सहमतिलाई अबमुल्यन गर्दै अघि बढ्न खोजेकाले आन्दोलन गर्नुपरेको धारणा व्यक्त गरे ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसाालले संविधानसभाबाट संविधान बन्ने नसक्ने ठोकुवा गरिन् । १२ बुँदे सहमति र शान्ति सम्झौतालाई आधार बनाउँदै दलहरुबीच सहमति खोजिनुपर्नेमा रायमाझी र भुसालले समेत जोड दिए ।











