१० चैत्र , काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच संविधानका अन्तर्वस्तु र प्रक्रियाका विषयमा सहमति नभएको अवस्थामा नियमावलीअनुसार दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउनुको विकल्प नहुने प्रष्ट गरेका छन् ।
नेपालका लागि बेलायती कायममुकायम राजदूत गाय ह्यारिसनसँग मंगलबार आफ्नै कार्यकक्षमा भेट गरेपछि अध्यक्ष नेम्वाङले सन्चारकर्मीसँग दलहरुले सहमति गर्न ढिलाइ गरे अब आफूले दुई तिहाइ बहुमतको प्रक्रिया अघि बढाउने बताए ।
संविधानसभा नियमावली पनि दलहरुको सहमतिमा निर्माण भएको भन्दै उनले संविधानका अन्तर्वस्तुमा सहमति नभएको अवस्थामा नियमावलीअनुसार अघि बढ्नुको विकल्प नरहेको बताए ।
सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक बोलाउने वा सहमतिका लागि अझै कुर्ने सम्बन्धमा बुधबार प्रमुख दलका सचेतकहरुसँग बैठक गरेर निर्णय गर्ने जानकारी दिए ।











