१० चैत, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले दश वर्षे द्वन्द्वका बेला कति घटना भए भन्ने बारेमा आयोगले यकिन तथ्यांक पाउन नसकेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको सामाजिक न्याय तथा मावअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गुरुङले द्वन्द्वका बेला भएका घटना र क्षतिको यकिन तथ्यांकको अभावमा काम गर्न कठिनाइ भएको बताए । उनले सरकार, संयुक्त राष्ट्रसंघ र विभिन्न गैरसरकारी संस्थाले उपलब्ध गराएको तथ्यांक आपसमा मेल नखाएकाले आयोग अप्ठेरोमा परेको बताए । गएको माघ २७ गते गठित पाँच सदस्यीय आयोगले माघ २९ गतेदेखि काम सुरु गरेको थियो । गुरुङले द्वन्द्वकालमा भएको क्षतिको विषयमा आयोगले अब नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्कालीन विद्रोही एकीकृत नेकपा माओवादीसँग अलगअलग रुपमा विवरण माग्ने बताए ।
आयोगका सदस्य विष्णु पाठकले आयोगलाई सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, पीडित, पीडक र अन्तर्राष्ट्रिय समुदाय सबैको सहयोग चाहिने बताए ।











