१० चैत, काठमाडौं । पार्टी एकताका लागि भएको राप्रपा र राप्रपा नेपालले दुवै पक्ष सम्मिलित सैद्धान्तिक र प्राविधिक समिति गठन गरेका छन् । सिंहदरबारमा मंगलबार भएको वार्ताले सैद्धान्तिक र प्राविधिक गरी दुई समिति गठन गरेको जानकारी दुवै पार्टीले दिएका छन् । दुवै समितिले पार्टी एकताका आधार निक्र्योल गर्ने र उपनिर्वाचन पहिले नै पार्टी एकता गर्ने निर्णय दुवै दलले गरेको जानकारी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सैद्धान्तिक समितिले कुन वैचारिक आधारमा पार्टी एकता गर्ने भन्ने विषय टुङ्गो लगाउने छ । यस समितिमा दुवै दलबाट केशरबहादुर विष्ट, निरंजन थापा, राजाराम श्रेष्ठ, दीपक बोहोरा, ठाकुर शर्मा र रामकृष्ण भट्टराई रहेका छन् ।
प्राविधिक समितिले पार्टी एकतापछि हुने नेतृत्वबारे टुङ्गो लगाउने निर्णय दुवै दलले गरेका छन् । प्राविधिक समितिमा डा. धवलसमशेर राणा, चन्द्रबहादुर गुरुङ, मोहन श्रेष्ठ, दिलनाथ गिरी, वुद्धिमान तामाङ, भुवन पाठक, हेमजंग गुरुङ र किरण गिरी रहेका छन् ।











