९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने बताएका छन् ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि सोमबार त्यसतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख विवादित विषयमा धेरै समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्नेमा जोड दिए । नेपालको राजनीतिक गाँठो नेपालीले नै फुकाउनुपर्नेमा जोड दिँदै उनले छिमेकी मित्रराष्ट्र चीनको आवश्यक सहयोग र सल्लाहको जरुरत रहेको धारणा व्यक्त गरे ।
दलहरुबीच न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा सहमति भइसकेको भए पनि राज्य पुनःसंरचनाको विषयमा सहमति हुन नसक्दा राजनीतिक गत्यावरोध बढेको भन्दै प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले साँच्चै सहमतिका लागि तयार हुने हो भने सहमति टाढा नभएको बताए । प्रचण्डले आफूले पछिल्लो दिनमा राष्ट्रपति डाक्टर रामवरण यादव र प्रमुख दलका नेतासँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै सबै दल सहमतिमा आउने र नेपाली जनताले जनअपेक्षित संविधान पाउने विश्वास व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफू चीन जान लागेको उल्लेख गर्दै भ्रमणका क्रममा दुई पार्टी र दुई मुलुकको सम्बन्ध विस्तारमा छलफल हुने बताए । चीन भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको विषयमा कुराकानी हुने र चिनियाँ नेताको धारणा बुझ्ने काम हुने उनको भनाइ छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम नरहेको भए पनि चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासँग भेटवार्ता हुने जानकारी प्रचण्डले दिएका छन् । प्रचण्डसँगै महासचिव कृष्णबहादुर महरा र प्रचण्डकी पत्नी सीता दाहाल पनि चीनतर्फ लागेका छन् । प्रचण्ड चैत १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।











