९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नेपालका कम्युनिस्ट नेताहरु पहिला महानायक त्यसपछि नायक र अन्तमा खलनायक भएर सकिने गरेको तर्क गरेका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले कम्युनिस्ट नेताहरुको यस्तो प्रवृत्ति को अन्त्य नगरेसम्म सबै कम्युनिस्ट पार्टी एकता असम्भव रहेको दावी गरे ।
नेपालमा कम्यूनिष्ट पार्टीहरु सिद्धान्तभन्दा पनि व्यक्तिगत स्वार्थका कारण फुटेको दावी रायमाझीले गरे । रायमाझीले कम्युनिस्टहरु कम्तिमा पनि क्रान्ति गर्न प्रगतिशिल पूँजीवादी चरित्रको हुनु पर्नेमा नेपालका कम्यूनिष्टहरु निम्न पूँजीबादी चरित्रका भएको आरोप लगाउँदै उनले दृष्टिकोणबाट उन्मुक्ति दिएर एकता गर्न सकिने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणी थापाले मुलुकमा पछिल्लो परिवर्तन माओवादी धारले गरेको भए पनि त्यो आन्दोलन विघठन र विचलनमा परेको दावी गरे । प्रचण्डले त्यसलाई स्विकारेकोले आफूहरु प्रचण्डको नेतृत्वमा पार्टीएकता गर्न तयार भएको थापाले बताए ।











