९ चैत, काठमाडौं । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको ८ महिनापछि हुन लागेको केन्द्रीय सदस्यहरुको कार्य विभाजनका विषयमा विवाद भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको सचिवालयको बैठकमा महासचिव ईश्वर पोखरेलले कार्य बिभाजनको प्रस्ताव पेश गरेपछि नेपाल पक्षधरले बिरोध जनाएको हो ।
पोखरेलेको कार्य बिभाजनको प्रस्तावमा छलफल गर्न पार्टी अध्यक्ष केपी ओली निबासमा स्थायी कमिटि बैठक बोलाईए पनि नेता माधवकुमार नेपाल भने अनुपस्थित रहेका थिए । यसअघि सचिवालयमा सहमति गरेर कार्य विभाजन प्रस्ताव ल्याउन अध्यक्ष ओलीले आइतबार महासचिव पोखरेललाई निर्देशन दिएका थिए । महासचिव पोखरेलले पेश गरेको प्रस्तावमा पाँच उपाध्यक्षहरुलाई पाँच विकास क्षेत्रको प्रमुख बनाउने उल्लेख छ ।
उपमहासचिव घनश्याम भुसाललाई दिने भनिएको स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी ओलीलाई नै राखिएकोमा नेपाल पक्षले आपत्ति जनाएको छ । महाधिवेशन भएको ८ महिनासम्म पनि पार्टी अध्यक्ष ओली पार्टीको कार्यविभाजन गर्दा आफू पक्षको एकलौटी गर्नेतिर लागेको देखिन्छ भने नेपाल पक्ष हरेक प्रस्तावमा निहुँ खोजेर विरोध गर्नेतर्फ केन्द्रत रहेको छ ।
सोमबार भएको बैठकमा कार्यविभाजनका विषयमा विस्तृत छलफल गरे पनि निर्णयमा पुग्न नसकिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्था, भातृ संगठनको विवाद लगाएतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
महासचिव पोखरेलले १४ अञ्चलको इन्चार्जमा प्रस्ताव गरेका नाममध्ये बागमतीका शेरबहादुर तामाङबाहेक सबै संस्थापन पक्षका हुन ।











