९ चैत, काठमाडौं । संसदको अर्थ समितिले आर्थिक वर्ष परिवर्तनको औपचारिक प्रस्ताव गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति प्रकाश ज्वालाले आगामी वर्षदेखि असार एक गतेलाई नयाँ आर्थिक वर्षको पहिलो दिनको रुपमा गणना गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो । बैठकमा पेश गरिएको प्रस्ताव अनुसार सरकारको नीति तथा कार्यक्रम वैशाख १५ गतेसम्म पेश गर्नुपर्ने र वैशाख अन्तिम सातासम्म पारित गर्नुपर्ने हुन्छ । यसैगरी जेठको पहिलो साता बजेट र बजेटसँग सम्बन्धित विधेयकहरु पेश गर्ने जेठ मसान्तसम्ममा पारित गर्ने गरी समितिले प्रस्ताव गरेको छ । यसैगरी समितिमा पेश गरिएको प्रस्ताव अनुसार असार एकदेखि नयाँ आर्थिक वर्ष सुरु हुनेछ भने असार मसान्तसम्ममा सम्बन्धित निकायहरुमा अख्तियारी सहित रकम निकासा तथा कार्यक्रम स्वीकृत भइसक्नुपर्ने छ । यस्तै भदौ मसान्तसम्ममा सार्वजनिक खरिदका लागि कागजी प्रकृया, बोलपत्र आह्वान र स्वीकृति तथा सम्झौताजस्ता काम सकेर असोजदेखि जेठसम्म विकास निर्माण र खरिद कार्य सुरु गरेर सम्पन्न गरिसक्नुपर्ने प्रस्ताव अर्थ समितिको छ ।
आर्थिक वर्ष परिर्वतनबारे यसअघि पनि पटक पटक छलफल भएको थियो । २०६६ सालमा बनेको सरकारी बजेट व्यवस्थापन तथा खर्च प्रणाली पुनरावलोकन आयोगले वैशाख १५ गतेभित्रै बजेट प्रस्तुत गर्नुपर्ने सुझाव पेश गरेको थियो । आयोगले वैशाख एक देखि चैत मसान्तसम्मलाई आर्थिक वर्ष बनाउन सुझाव दिएको थियो ।












