८ चैत्र,
काठमाडौं । समय समयमा विभाजित हुदैं आएका पाँच माओवादीका शीर्ष नेताहरुबीच आज पहिलो पटक एकै स्थानमा बसेर पछिल्लो राजनीतिक अवस्था र माओवादी आन्दोलनका विषयमा छलफल गर्ने भएका छन् ।
आइतबार नेकपा–माओवादीको केन्द्रीय कार्यलय बुद्धनगरमा एकीकृत माओवादी, नेकपा–माओवादी र नेकपा माओवादीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सरकारले गठन गरेको सत्य निरुपण तथा वेपत्ता खोजविन आयोग, माओवादी कार्यकर्तामाथि विभिन्न स्थानमा चलाइएका जनयुद्धकालीन मुद्दा र माओवादी आन्दोलनको पुर्नगठनका विषयमा छलफल हुन लागेको हो ।
छलफलमा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दसहितका शीर्ष नेताहरु उपस्थित हुनेछन् ।
यसैगरी नेकपा (माओवाद) का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा पनि सहभागी हुनेछन् ।
आइतबार बिहान मात्रै बुद्धनगरमा केही दिनअघि बनेको एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरु सम्मिलित पार्टी एकताका लागि गठित कार्यदलको बैठक बसेको थियो ।
बैठकमा पार्टी एकताका लागि विभिन्न ७ बुँदे आधारपत्रमाथि छलफल भएको नेताहरुले जनाएका छन् । सरकारले पछिल्लो समयमा माओवादीहरुमाथि कडा रबैया अपनाउन थालेपछि माओवादीहरु छलफलमा जुटेका हुन् ।
पछिल्ला दुई दिनमा कालो झण्डा गाडेको तथा मसाल जुलुसमा सहभागी भएका विप्लव माओवादीका दर्जनौ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।











