७ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले युवा संघ नेपालभित्रको विवादलाई संस्थापन पक्षले समाधान नगरे अर्को संगठन घोषणा गर्ने चेतावनी दिएका छन् । युवा संघको दिलु पन्त समुहले शनिबार राजधानीमा गरेको राष्ट्रिय राजनीति, नेकपा एमाले र युवा आन्दोलन विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कार्यकर्तालाई अत्याचार गरे अन्यायमा परेका कार्यकतालाई आफूले संरक्षण गर्ने बताए ।
पार्टी एक ढिक्का भएर अगाडि बढोस् भन्ने आफ्नो चाहना भएको भन्दै नेता नेपालले पार्टीभित्र कोही कसैको दास हुन नसक्ने बताए । पार्टी र पार्टीभित्र कोही शासक बन्न खाजे त्यसको प्रतिकार गर्नुपर्ने नेता नेपालको भनाइ थियो ।
संगठनमा सामुहिक निर्णयलाई मान्यता दिनुपर्ने भन्दै नेता नेपालले युवा संघभित्र व्यक्तिवाद हावी हुन खोजेको बताए । यस्तै नेता नेपालले युवा संघभित्र डनवाद र धनवाद मौलाएको धारणा व्यक्त । संगठनभित्र गुण्डाप्रवृत्ति हावी हुँदै गएको नेता नेपालको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग युवा संघका दुई पक्षले आयोजना गरेका दुवै सम्मेलन स्थगित गर्ने सहमति भए पनि त्यस सहमतिलाई एमालेका नेताहरुले कार्यान्वयन नगरेको भन्दै नेता नेपालले आक्रोस पोखे । हेटौंडामा भएको सम्मेलनमा सहभागी हुन गएका नेताहरुले एमालेलाई गुटतर्फ धकेल्न खोजेको उनको भनाइ थियो ।
युवा संघको संस्थापन समूहको विस्तारित बैठक हेटौंडामा शनिबार उद्घाटन गर्न पार्टी अध्यक्ष केपी ओलीले दुई पार्टी उपाध्यक्ष वामदेव गौतम र विद्यादेवी भण्डारीलाई पठाएका थिए । । संस्थापन पक्षले पार्टीको अनुसाशन कमिटीको निर्णय विरुद्ध कार्य गरेको आरोप दिलु पन्त पक्षले लगाएको छ ।











