७, चैत, सर्लाही । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा संविधान बनाउनका लागि अझै वार्तामा बस्न सकिने वताएका छन् ।
प्रतिगमन विरुद्धको जनसभामा भाग लिन शनिवार सर्लाहीको ग्रामीण भेग हरकटवामा पुगेका प्रचण्डले पत्रकार भेटघाटमा सत्तापक्षकै अडानका कारण सहमतीको वताबरण विग्रिएको बताए ।
विगतमा राजा महाराजाले जस्तै जवर्जस्ती गरे आन्दोलन कुनै हालतमा नरोकिने उनले चेतावनी दिए । ‘राजधानीमा फागुन १६ गते भएको जनसभापछि सत्तापक्षमा केही लचकता आयो’, उनले भने, ‘सायद दवाब अझै पुगेको छैन् । बाध्य भएर दोस्रो आन्दोलन घोषणा गरेका हौं ।’
बिस्तृत शान्ति सम्झौता, मधेस आन्दोलनपछि भएको सम्झौताको भावना अनिवार्य रुपमा संविधानमा समेटिनुपर्ने उनले बताए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर संविधानमा सुनिश्चितगर्ने भनेको अधिकारको बिरोध अहिले एमाले र कांग्रेसले गरिरहेको उनले
आरोप लगाए । शान्ति सम्झौतको जिवित हस्ताक्षरकर्ता भएकाले आफूले निकै लचकता अपनाएको उनले दावी गरे ।
‘गिरीजावाबुको अबसानपछि काँग्रेस र एमालेमा सम्झौता बिरोधी धार हावी भयो’,उनले भने, ‘समानुपातिक, समाबेसीता र परिवर्तन रोक्न खोजे ठूलै आन्दोलन कसैले रोक्न सक्दैन् ।’
कार्यक्रममा भाग लिन प्रचण्ड हेलिकप्टरमा सर्लाही पुगेका थिए । मधेसको ग्रामीण भेगमा प्रचण्ड आउने भनेर स्वागतमा धेरै सहभागी थिए ।











