७ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव चैत १२ देखि चीन भ्रमणमा जाँदै छन् । तर उनले गर्न लागेको साताव्यापी चीन भ्रमणलाई त्यहाँको सरकारले राजकीय भ्रमणको मान्यता दिएको छैन ।
राष्ट्रपति डा. यादव बोआओ फोरम अफ एसियाको वार्षिक कार्यक्रममा सहभागी हुन चीनको हेनान प्रान्तको भ्रमणमा जान लागेका हुन् । एसिया युगु सुरु गर्दै १४ वर्षअघि आरम्भ भएको फोरममा सहभागी हुने उनी नेपालका दोस्रा राष्ट्राध्यक्ष हुनेछन् ।
राष्ट्रपति डा. यादवले बोआओ फोरममा सहभागी हुने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई समेत भेट्ने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
अप्रिल २००१ मा भएको बोआओ फोरमको पहिलो कार्यक्रममा विशेष अतिथि रहेका तत्कालीन राजा वीरेन्द्रले किनोट स्पिच दिएका थिए।
चीनको पाँचदिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उपराष्ट्रपति लिउ युनचाओबीच राष्ट्रपति यादवको आसन्न चीन भ्रमणबारे छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा उपराष्ट्रपति लिउले राष्ट्रपति यादवलाई स्वागत गर्न चीन व्यग्र रहेको उल्लेख गर्दै भ्रमणका क्रममा हुने भेटवार्ताबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा र्पुयाउन मद्दत पुग्ने अपेक्षा गरेका थिए।
नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। भेटका अवसरमा नेपाल(चीनबीचको सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्नेबारे कुराकानी भएको थियो।
मन्त्री पाण्डले कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्ष मनाउने क्रममा सन् २०१५ उच्चस्तरीय भ्रमण आदानप्रदान हुने विश्वास व्यक्त गरेका थिए।
प्रचण्ड सोमबार चीन जाँदै
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको पाँचदिने भ्रमणका लागि सोमबार चीन जाँदै छन् ।
महासचिव कृष्णबहादुर महरा र पत्नी सीता दाहाल सहित अध्यक्ष दाहाल सोमबार चीनको युनान प्रान्तस्थित कुन्मिङ् जान लागेका हुन् । भ्रमणको उद्देश्य र कार्यक्रमबारे एमाओवादीले जानकारी दिएको छैन ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रचण्डले भ्रमणका क्रममा चिनियाँ उच्च नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा चीनका अन्य सहर समेत जानल सक्ने सम्भावना छ तर सो बारेमा टुंगो लागि सकेको छैन।
भ्रमण सकेर प्रचण्ड चैत १३ गते स्वदेश नेपाल फर्किने कार्यक्रम छ ।
आफ्नो सुरक्षाका दृष्टिले नेपालको राजनीतिक अवस्थालाई चीनले पछिल्लो समयमा निकै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् । राजनीतिक तथा कुटनीतिक तवरबाट नै चीनले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ । खास गरी भारत र अमेरिकाले चीनविरुद्ध गर्ने गतिविधिप्रति चीन निकै सचेत देखिँदै आएको र उसले गुप्तचरीलाई समेत निकै बढाएको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउँछन् । नेपालको राजनीतिक अवस्थाको रिमोट कन्ट्रोल दिल्ली रहेको विश्लेषण भइरहेको अवस्थामा चीनले राष्ट्रपतिदेखि प्रचण्डसम्मलाई चीन बोलाएर आफ्नो अनुकुलको वातावरण नेपालमा सिर्जन गर्न खोजेको विश्लेषण विश्लेषकहरुले गरेका छन् ।











