६ चैत, काठमाडौं / लगानी बोर्डका अध्यक्ष राधेश पन्तको घर कब्जा गर्न गएका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेकोमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विरोध गरेका छन् । विप्लवले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनामा राष्ट्रघात गर्ने पन्तलाई सरकारले कारवाही गर्नुपर्नेमा आफूहरुले कारवाही गर्न खोज्दा उल्टै पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।
सरकारका तर्फबाट राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गर्ने पन्तको विरोध गर्न र चेतावनी दिन गएका आफ्ना नेता कार्यकर्तालाई ‘दलाल सरकारको निर्देशनमा प्रहरीले गिरफ्तार गरेको’ आरोप विप्लवले लगाएका छन् ।
आफ्ना नेता कार्यकर्तालाई ससम्मान रिहाइ नगरे कडा संघर्ष गर्ने चेतावनी समेत उनको विज्ञप्तीमा छ ।
पन्तको धापासीस्थित घरमा झण्डा गाड्न गएका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले आजै पक्राउ गरेको थियो । जसमा असारे काका लगायतका पार्टीका पोलिट्व्युरो सदस्य समेत रहेको छन् । माओवादी नेता धर्मेन्द्र वास्तोलाको नेतृत्वमा गएको समुहले पन्तको घर केहीबेरका लागि कब्जामा लिएको थियो ।
शनिबारसम्म पनि आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेको भन्दै विप्लवले फेसबुकमार्फत सशक्त आन्दोलन गर्ने दोहोर्याएका छन् । उनले भनेका छन्, ‘यदि असारे काका लगायतका कमरेडहरुलाई छोडिएन भने सशक्त आन्दोलन बढ्ने छ ।’











