४ चैत, काठमाडौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काग्रेस एमालेले बनाए अनुसारकै संघीयता होस भन्ने पक्षमा रहेको उनले विश्वासिलालाई भन्ने गरेको सुनाउँदै बाहिर खाली राजनीति कायम राख्न आन्दोलन गरेको दावी गरे ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले विगतका सहमति सम्झौता कार्यान्वयन गरे आन्दोलनको आवश्यकता नभएको बताएका छन् । वुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै यादवले विगतका उपलब्धिहरु रक्षा गर्न र जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्नुपरेको बाध्यता सुनाए । कांग्रेस एमालेको दम्भकै कारण आफूहरु आन्दोलनमा होमिनुपरेको पनि उनले दोहोर्याए ।
उनले सहमतिको आधारमा बनेको संविधानमा सबैको स्वामित्व हुने भन्दै जनताको कुरा नसुन्ने र सहमति कार्यान्वयन नगरे मुलुकमा निर्विकल्प विद्रोह हुने दावी गरे ।
सत्तापक्षसँग दुई तिहाई बहुमत भए संविधान बनाउन चुनौति दिदै यादवले राम्रो भए जनताले स्वीकार्ने नभए जलाउने बताए । सहमतिअनुसार संविधान बनाए आफूहरुको आन्दोलनको औचित्य नभएको र जनताले साथ पनि नदिने तर कांग्रेस एमालेले एकलौटी गर्न खोजे विद्रोह हुने उनले चेतावनी दिए । कांग्रेस एमालेको सत्तामोह र दम्भले नै संविधान बन्ने अवस्था नरहेको उनले आरोप लगाए ।
एमाले नेता माधवकुमार नेपालले एमाले र कांग्रेसभित्र भँडुवाहरु भएको भनी दिएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले समस्या समाधान गर्न ईमान्दार नहुने हो भने आन्दोलन सुरु हुने चेतावनी दिए ।
विगतमा भएका सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो भएकोले फुकाउन आफूहरु बार्तामा बसेको स्पष्ट पार्दै वार्तामा बस्नेहरुले नै सहमति गर्नुको साटो आफूहरुलाई अपमानित बनाएर निकाल्ने काम गरेको बताए ।











