४ चैत, काठमाडौ । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले काग्रेस एमाले सहितका दलहरुको दुई तिहाई मतलाई रद्दीको टोकरीमा राखेर संविधान बन्न नसक्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले जनताको अभिमतबाट संविधान बनाउने स्पष्ट पार्दै सत्तारुढ दलहरुलाई कमजोर नठान्न विपक्षीलाई चेतावनी दिए । उनले जनताको मतको अपमान गरेर संविधान बनाउनु ब्यवहारिक नहुने बताए ।
डा. रिजालले दुई तिहाई बहुमतमा मत थपेर सबैलाई स्वामित्व ग्रहण गर्ने बातावरण बनाउने प्रयत्न बार्ता भएको बताउँदै अधिकतम सहमति कायम गर्ने आफूहरुको सदासयतालाई कमजोरी नठान्न चेतावनी दिए ।
उनले सहमतिको प्रयत्नको बाटो चिरिएपछि फेरि जोडिदासम्म मुलुकले धेरै क्षती बेहोरिसक्ने तर्फ सचेत गराउँदै संघीयताको विषयमा विपक्षी दलका नेताहरुले नै धेरै विकल्प प्रस्तुत गरिसकेकोले अब त्यसमा छलफल गरेर सहमति गर्न सकिने दावी गरे । उनले भने–काग्रेस र एमालेले प्रस्तुत गरेको नौ बुँदे प्रस्तावमा लचक हुन हामी तयार छौ । अब धेरै विवादहरु बाँकी छैनन ।
उनले विगतमा भएका सहमति आफूहरुले मानेको र पुराना सहमतिकै आधारमा नौ बुँदेमा संघीयताको खाका बनाएको दावी गर्दै विपक्षीहरुलाई त्यस्तो नलागेको भए ब्याख्या गर्ने स्थान संविधानसभा भएकोले त्यहाँ आएर छलफल गर्न सुझाव दिए ।











