एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा–माओवादीले भन्दैमा संविधानसभा नछाड्ने बताएका छन । पार्टी एकताका लागि वुधबार भएको बैठकमा मातृका यादव मणि थापा लगायतका नेताहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो दलले संविधान सभा चाहिं नछाड्ने अडान दोहोर्याए ।
एमाओवादी र नेकपा–माओवादी माओवादीबीच पार्टी एकताका भए एमाओवादीले संविधान सभा छाड्न सक्ने भनी गरिएको अनुमानको खण्डन गर्दै प्रचण्डले यस्ता बताएको बैठकमा सहभागी नेता मातृका यादवले नेपाल देश डट कमलाई जानकारी दिए । एकीकृत माओवादी र नेकपा–माओवादीबीच हुँदै आएका वार्तामा एमाओवादीलाई संविधानसभा छाडेर सडक संघर्षमा आउन नेकपा–माओवादीले आग्रह गर्दै आएको छ ।
नेकपा (माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले बुधबार भएको भेटमा प्रचण्डले संविधानसभाबारे अझै दुई माओवादीको फरक बुझाइ रहेको बताएका छन् । यादव र थापा पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउने पहल सुरु गर्न विहान लाजिम्पाट पुगेका थिए ।
भेटमा प्रचण्डले सबै माओवादीलाई मिलाउन आफू सकारात्मक रहेको बताए । तर, बैद्य माओवादीसँग कुरा नमिल्दा कार्यगत एकता समिति अघि बढ्न नसकेको जानकारी थापाले दिए । भेटमा यादव र थापाले भने दुई माओवादी मात्र मिलेर नहुने भन्दै पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउन आग्रह गरेका छन ।
एमाओवादी, वैद्य नेतृत्वको माओवादी, मातृका नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापा नेतृत्वको नेकपा एकीकृतले कार्यगत एकता समिति गठन गरेका थिए । तर, झण्डै चार महिनादेखि कार्यगत एकता समिति निस्क्रिय छ ।











