३ चैत, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्ट्राचार मुद्दामा पाण्डे पक्राउ परेका हुन् । पाण्डेलाई केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार साँझ निवासबाटै पक्राउ गरेको हो ।महासंघका अध्यक्ष प्रदीपराज पाण्डेको पुरानो भ्रस्ट्राचार मुद्दामा तत्काल पक्राउ नगर्न माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश खारेज गर्दै पक्राउका लागि कानुनी बाटो खुला गरिदिएको थियो ।
अध्यक्ष पाण्डे सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रस्ट्राचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा पाण्डेलाई अदालतले दोषी ठहर गरेको थियो ।
तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमाङ्गीमार्फत् उनको मुद्दामा सफाइ दिएको भनेर उनले दाबी गर्दै आएका थिए । तर सो विषय जिल्ला अदालतको तामेली शाखामा दर्ता नभएको भन्दै तत्काल पक्राउ किन नगर्ने भनी जिल्लाले पाण्डेलाई पत्र लेखेको थियो ।
सो पत्र रोक्न माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए। सर्वोच्चले पहिलो सुनुवाइ गर्दै गत कात्तिक २३ गते तत्काल उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर दुवै पक्षको छलफल सुनिसकेपछि न्यायाधीशहरु कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजालसले मंगलबार अन्तरिम आदेश खारेज हुने आदेश गरेको हो ।
सर्वोच्चको यो आदेशपछि जिल्ला अदालतको पत्र कार्यान्वयनका लागि प्रहरीले दोषीलाई पक्राउ गरेको हो ।











